साउदी अरबमा कार्यरत विदेशी श्रमिक तथा आप्रवासीहरूले सन् २०२५ मा हालसम्मकै सबैभन्दा धेरै रेमिट्यान्स आफ्ना देश पठाएका छन्। साउदी केन्द्रीय बैंकका अनुसार यस वर्ष विदेशीहरूले कुल १ खर्ब ६५ अर्ब ५० करोड साउदी रियाल विदेश पठाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा करिब १५ प्रतिशत बढी हो। साउदीको कुल जनसंख्याको करिब ४० प्रतिशत विदेशी श्रमिक रहेका छन्, जसमा करिब चार लाख नेपाली कार्यरत भए पनि उनीहरूले नेपाल पठाएको रकमको आधिकारिक तथ्यांक सार्वजनिक भएको छैन।
सन् २०२५ मा फेब्रुअरी महिनामा रेमिट्यान्स वृद्धिदर सबैभन्दा बढी ३७ प्रतिशत देखिएको छ भने मार्च महिनामा १५ अर्ब ५० करोड रियाल पठाइनु सन् २०१६ यताकै उच्च मासिक रेकर्ड हो। डिसेम्बर महिनामा विदेशीहरूले पठाएको रकम अघिल्लो वर्षभन्दा केही कम भए पनि समग्र वार्षिक रेमिट्यान्स ऐतिहासिक रूपमा उच्च रहेको छ।
यसैगरी साउदी नागरिकहरूले पनि सन् २०२५ मा करिब ७० अर्ब ४० करोड रियाल विदेश पठाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा करिब ३ प्रतिशत बढी हो। विश्लेषकहरूका अनुसार साउदी अरबमा ठूलो संख्यामा विदेशी श्रमिक कार्यरत हुनु, श्रम बजारको अवस्था र जीवनयापन खर्चले रेमिट्यान्स वृद्धिमा प्रत्यक्ष प्रभाव पारेको छ।















