काठमांण्डौ — अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग जारी तनाव र सम्भावित युद्धको अन्त्य हुने बलियो संकेत देखिएको बताएका छन्। फक्स न्युजसँगको एक अन्तर्वार्तामा रुबियोले अमेरिका र इरानबीच कुनै पनि समयमा सिधा भेटघाट र वार्ता हुन सक्ने दाबी गरेका हुन्।
विदेशमन्त्री रुबियोले इरानसँगको द्वन्द्व समाधानको अन्तिम चरणमा पुगेको उल्लेख गर्दै भने, “म अहिले नै कुनै निश्चित समयसीमा तय गर्न चाहन्नँ, तर हामीले यो युद्ध अन्त्यको ‘फिनिस लाइन’ देखिरहेका छौँ।” उनले दुई देशबीच विभिन्न माध्यमबाट कुराकानी भइरहेको र कुनै पनि बेला औपचारिक तथा सिधा भेटघाट हुन सक्ने बताएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पको अडान प्रस्ट पार्दै रुबियोले अमेरिका केवल देखावटी वार्ताको पक्षमा नरहेको उल्लेख गरे। “राष्ट्रपति ट्रम्प इरानले झुटा वा देखावटी कुराकानी गरेर समय लम्ब्याउन खोजेको वा उम्किन खोजेको देख्न चाहनुहुन्न,” उनले थपे, “हामी वास्तविक परिणाममुखी वार्ताका लागि सधैँ तयार छौँ।”
यसअघि राष्ट्रपति ट्रम्पले आगामी दुई देखि तीन हप्ताभित्र अमेरिका इरानसँग जोडिएका सैन्य गतिविधि वा क्षेत्रबाट बाहिरिने घोषणा गरिसकेका छन्। सोही घोषणाको पृष्ठभूमिमा विदेशमन्त्रीको यो पछिल्लो भनाइले मध्यपूर्वको राजनीतिमा नयाँ मोड आउन सक्ने आँकलन गरिएको छ।















