काठमाडौं, २३ चैत । वर्तमान सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा राजनीतिक कोटाबाट नियुक्त भएका ६ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार परराष्ट्र मन्त्रालयले सोमबार सम्बन्धित राजदूतहरूलाई एक महिनाभित्र स्वदेश फर्कन पत्राचार गरेको हो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलका अनुसार निम्न देशका राजदूतहरूलाई फिर्ता बोलाइएको छ:
भारत: शंकरप्रसाद शर्मा
अस्ट्रेलिया: चित्रलेखा यादव
दक्षिण कोरिया: शिवमाया तुम्बाहाम्फे
डेनमार्क: सुम्निमा तुलाधर
श्रीलंका: पूर्णबहादुर नेपाली
दक्षिण अफ्रिका: कपिलमान श्रेष्ठ
केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ३४ वैदेशिक नियोगहरूमध्ये १७ स्थानमा राजनीतिक कोटाबाट राजदूत नियुक्त गरेको थियो। तीमध्ये ११ जनालाई यसअघिको सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले गत कात्तिकमै फिर्ता बोलाइसकेको थियो। बाँकी रहेका ६ जना राजनीतिक नियुक्तिका राजदूतहरूलाई बालेन शाह नेतृत्वको वर्तमान सरकारले अहिले फिर्ता बोलाएको हो।
यस निर्णयसँगै अब ती महत्वपूर्ण कुटनीतिक नियोगहरूमा नयाँ राजदूत नियुक्तिको प्रक्रिया अघि बढ्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। राजनीतिक कोटाबाट नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको यस कदमलाई कुटनीतिक क्षेत्रमा चासोका साथ हेरिएको छ।















