काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले आफ्नो २७ औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ । आसियान मुलुकलाई लक्षित गर्दै नेपाललाई दीर्घकालीन र उच्च सम्भावनायुक्त पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित उक्त घोषणा गरिएको हो ।
बोर्डका कार्यकारी प्रमुख अधिकृत (सीईओ) दीपक राज जोशीले उद्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै सन् २०२६ लाई केन्द्रमा राखेर विशेष रणनीति सार्वजनिक गरे । उनका अनुसार हालसम्म १ लाख ७ हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भित्रिसकेका छन्, जसले यो क्षेत्र नेपालका लागि महत्वपूर्ण र दिगो बजार रहेको पुष्टि गर्छ । “बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक पर्यटन, वेलनेस तथा आयुर्वेद, संस्कृति र समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपालको सशक्त पहिचान बनाइनेछ,” सीईओ जोशीले बताए । कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन समारोहका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा तथा विशिष्ट अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ रहेका थिए । सीईओ जोशीले सन् २०२५ मा ११ लाख ६० हजार पर्यटक नेपाल भित्रिने अनुमान गरिएको जानकारी दिँदै यो संख्या अघिल्लो वर्षको तुलनामा करिब ३ प्रतिशतले वृद्धि भएको बताए । उनका अनुसार सन् २०२५ भित्र ३१ वटा टुरिजम मार्ट, १२ वटा ब्रान्डिङ तथा कर्पोरेट गतिविधि, र २० भन्दा बढी माइस (ःक्ष्ऋभ्) कार्यक्रम सम्पन्न भएका छन् ।
जेन्जी आन्दोलनपछिको अवधिमा बोर्डले आठ प्रमुख पर्यटकीय गन्तव्यबाट लाइभ प्रसारणमार्फत प्रवद्र्धन गरेको, नौ भाषामा यात्रा सूचना प्रकाशन गरेको तथा ६९ वटा पर्यटन पूर्वाधार विकासका काम अघि बढाएको जानकारी पनि उनले दिए । साथै, पूर्वदेखि सुदूरपश्चिमसम्म ४१ वटा प्रवद्र्धन तथा विकास कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । “पर्यटन केवल एउटा कोर सेक्टर मात्र होइन, बहु–क्रस सेक्टर क्षेत्र हो,” जोशीले उल्लेख गर्दै सन् २०२५ मा विभिन्न क्षेत्रमा २ हजार ६ सय पेशागत जनशक्तिलाई तालिम प्रदान गरिएको जानकारी दिए । सस्टेनेबल टुरिजम परियोजनाअन्तर्गत कञ्चनजंघा, मनास्लु र अपी–साइपालका प्रमुख ट्रेकिङ ट्रेलमा सम्भावना पहिचान, गुणस्तर सुधार, रोजगारी र बजार सिर्जनामा काम भइरहेको उनले बताए । एनटीबीले सन् २०२६ लाई परिभाषित गर्ने सात प्रमुख पर्यटन यात्रा प्रवृत्तिसमेत सार्वजनिक गरेको छ । ती प्रवृत्तिमा शोरभन्दा शान्ति, प्रशासनमा जेन–एआई, छनोटभन्दा विश्वास, हवाईमार्गभन्दा सडक, एकै ढाँचाभन्दा अत्यधिक व्यक्तिगत अनुभव, परीक्षण गरिएकाभन्दा अफ–ग्रिड गन्तव्य र संस्कृति प्राथमिकतामा रहने उल्लेख छ ।















