जिल्ला प्रशासन कार्यालय, बर्दियाले नजिकका प्रहरी चौकी, इलाका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा माघ मसान्तभित्र अनिवार्य रूपमा हातहतियार बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै इजाजत प्राप्त हातहतियार धनीहरूलाई सुरक्षाको दृष्टिकोणले अस्थायी रूपमा हतियार बुझाउन निर्देशन दिइएको हो ।
प्रशासनले आफ्नै नाममा दर्ता भएका बन्दुक, राइफल, रिभल्वर, पिस्तोल लगायत सबै प्रकारका गोली–गट्ठा समेत तोकिएको समयसीमाभित्र बुझाउन अनुरोध गरेको छ ।निर्वाचन अवधिमा अवाञ्छित गतिविधि, हिंसा, डरत्रास फैलिन सक्ने जोखिम तथा हातहतियारको सम्भावित दुरुपयोग न्यूनीकरण गर्न यस्तो कदम चालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार हतियार बुझाउँदा अनिवार्य रूपमा भर्पाई (रसिद) लिनुपर्नेछ । निर्वाचन प्रक्रिया सम्पन्न भएपछि सम्बन्धित धनीले २०८२ चैत २० गते भित्र उपस्थित भई भर्पाईको आधारमा हतियार फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गगन बहादुर हमालले तोकिएको समयसीमाभित्र हतियार नबुझाउनेलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएका छन् ।















