नेपाली कांग्रेसका सभापति गगन थापाले ‘परिष्कृत कांग्रेस’ मार्फत देशलाई समुन्नत बनाउने लक्ष्यमा पार्टी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको एक दिनपछि बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै थापाले आफ्नो नेतृत्वमा कांग्रेस संगठनात्मक र वैचारिक रूपमा नयाँ चरणमा प्रवेश गरेको दाबी गरेका हुन् ।
विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थापाको नेतृत्वमा गठित कांग्रेस केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले औपचारिक मान्यता दिएको थियो । उक्त निर्णयविरुद्ध तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट दायर गर्दै अन्तरिम आदेश माग गरेका थिए ।
सो रिटमाथि मंगलबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको थियो । यसै सन्दर्भमा थापाले आज सार्वजनिक प्रतिक्रिया दिएका हुन् ।
थापाले आफ्नो सन्देशमा भनेका छन्, ‘हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ।’ उनले संगठन सुधार, सुशासन, जवाफदेहिता र लोकतान्त्रिक मूल्यमा आधारित राजनीति आफ्नो प्राथमिकता रहेको पनि संकेत गरेका छन् ।
उनको भनाइले आगामी निर्वाचन र पार्टीको आन्तरिक पुनर्संरचनामा कांग्रेसले लिने दिशालाई स्पष्ट संकेत गरेको विश्लेषकहरूको भनाइ छ ।















