एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको “चलाखी” का कारण काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) राजनीतिक रूपमा फसेको आरोप लगाएका छन्।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बनेका ओलीले सोही क्षेत्रमा रास्वपाले बालेनलाई उम्मेदवार बनाएको सन्दर्भ जोड्दै बालेनलाई गलत निर्णयतर्फ धकेलिएको दाबी गरेका हुन्। ओलीले भविष्यमा प्रधानमन्त्री बनाइदिने आश्वासन देखाएर रवि लामिछानेले बालेनलाई निस्किन नसक्ने राजनीतिक खाल्डोमा हालिदिएको आरोप लगाए। “उल्किने बानी रहेछ, रविको चलाखीले यहाँ ल्याएर फसाइदिए,” ओलीले भने।
ओलीले बालेनले राष्ट्रिय राजनीतिमा कुनै उल्लेखनीय योगदान नगरेको आरोप पनि लगाए। लोकतन्त्र स्थापना, विकास निर्माण तथा राजनीतिक आन्दोलनमा बालेनको भूमिका नदेखिएको भन्दै उनले प्रश्न उठाए।“उहाँले यो देशका लागि के योगदान दिनुभयो ? लोकतन्त्र ल्याउन, विकास गर्न, बलिदान दिनुभएको कुनै इतिहास छ ? छ भने मलाई थाहा छैन,” ओलीले भने, “बरु सुकुम्बासी बस्तीमा डोजर चलाएको, खोला किनारमा बस्न नदिएको मात्रै देखियो।”
बालेनको उम्मेदवारीले आफ्नो चुनावी प्रतिस्पर्धामा कुनै प्रभाव नपर्ने दाबी गर्दै ओलीले झापा क्षेत्रमा बालेनको राजनीतिक आधार कमजोर रहेको टिप्पणी गरे। उनले व्यङ्ग्यात्मक शैलीमा सहयोग गर्न आफू तयार रहेको पनि बताए।
“यहाँ डेरा खोज्नुपरे सहयोग गर्छु। मेरो क्षेत्रमा आएपछि ‘म चुनाव लड्न आएको छु, कहाँ बस्ने ?’ भनेर सल्लाह मागेको भए म नै खोजिदिन्थेँ,” ओलीले भने। ओलीको अभिव्यक्तिपछि झापा–५ को चुनावी माहोल थप तातिएको छ भने पुराना दल र नयाँ राजनीतिक शक्तिबीचको आरोप–प्रत्यारोप पनि चर्किँदै गएको छ।















