सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ। यस सन्दर्भमा सहरी विकास मन्त्रालयले रंगशालालाई राष्ट्रिय स्तरको महत्व प्राप्त आयोजना घोषणा गरेको हो।
वर्तमान सरकारले असोज महिनाको अन्तिम साता रंगशालाको गुरुयोजना (Master Plan) स्वीकृत गर्दै नयाँ सम्झौता कार्यान्वयनका लागि सम्बन्धित सरोकारवालाहरुलाई निर्देशन दिएको छ।
मन्त्रिपरिषद् बैठकले गुरुयोजना अनुसार आवश्यक जग्गा सुनिश्चित गर्न त्रिवि, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् लगायत सम्बन्धित निकायहरूलाई कानुनअनुसार निर्देशन दिएको थियो।
सहरी विकास मन्त्रालयका अनुसार स्वीकृत गुरुयोजना अनुसार यस रंगशालामा थप १० अर्ब रुपैयाँ लगानी गरिनेछ। यो लगानीपछि रंगशालाको क्षमता अभिवृद्धि भएर अत्याधुनिक संरचना र सुविधासम्पन्न क्रिकेट रंगशाला बन्ने अपेक्षा गरिएको छ।















