कांग्रेस केन्द्रीय कार्यसमितिले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा गर्ने तयारी गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, शुक्रवार दिउँसो १ बजे सानेपा स्थित पार्टी मुख्यालयमा बैठक बोलाइएको छ, जहाँ यस सम्बन्धमा औपचारिक घोषणा हुने छ।
साथै, पार्टीले भावी प्रधानमन्त्री घोषणा गरेपछि थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पुग्ने कार्यक्रम तय गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन्। यस क्रममा प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले समर्थकसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर थापाको उम्मेदवारी दर्ता गरेका थिए।
नवनिर्वाचित केन्द्रीय कार्यसमिति चयनपछि यो पहिलो बैठक सानेपामा बस्न लागेको हो। अघिल्लो समयमा पार्टीभित्रको आन्तरिक कलहका कारण केन्द्रीय कार्यसमितिले सानेपामा नभई बाहिर बैठक राख्दै आएको थियो।
विशेष महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गरी पुस ३० मा थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो।















