
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूले आज दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ। आयोगको निर्धारित कार्यतालिकाअनुसार नाम फिर्ता लिने समय सकिएपछि आजै दिउँसो १ बजेदेखि ३ बजेसम्म देशभरका ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार आजै अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम तय गरिएको छ। चिन्ह वितरणसँगै उम्मेदवारहरूले औपचारिक रूपमा प्रचार–प्रसारका गतिविधि तीव्र बनाउने अपेक्षा गरिएको छ।
आयोगमा प्राप्त विवरणअनुसार देशभरबाट कुल ३ हजार ४८५ उम्मेदवारको उम्मेदवारी कायम भएको छ। जसमा पुरुष ३ हजार ८८, महिला ३९५ र तेस्रो लिङ्गी १ जना रहेका छन्।
यसैबीच चार जिल्लाका पाँच उम्मेदवारमाथि परेको उजुरीका आधारमा दुई उम्मेदवारको उम्मेदवारी खारेज भएको छ। कैलाली निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज गरिएको छ। त्यस्तै, काठमाडौँ निर्वाचन क्षेत्र नं. १० मा कर्जा सूचना केन्द्रको कालोसूचीमा परेकी मितेरी पार्टीकी उम्मेदवार सुमित्रा बस्नेतको उम्मेदवारी पनि खारेज भएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।
निर्वाचन आयोगले बाँकी उम्मेदवारहरूको विवरण अन्तिम नामावलीमार्फत सार्वजनिक गर्दै निष्पक्ष, स्वतन्त्र र मर्यादित निर्वाचनका लागि सबै पक्षलाई कानुनी मापदण्ड पालना गर्न आग्रह गरेको छ।

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology
© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology