गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उनले देशले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफू निरन्तर जनताको सेवामा लागिरहने बताए।
भट्टराईले शुक्रबार औपचारिक रूपमा उम्मेदवारी फिर्ता गर्ने घोषणा गरेका हुन्। उनले भने,
“आगामी दिनमा देशले चाहेको अनुसारकै व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। साथै, प्रस्तावक र समर्थक साथीहरूलाई हार्दिक आभार व्यक्त गर्दछु।”
पूर्वप्रधानमन्त्री भट्टराईले बताए अनुसार विभिन्न व्यक्ति र दलको आग्रह तथा सल्लाह–सुझावपछि उनले उम्मेदवारी फिर्ता लिने निर्णय लिएका हुन्। उनले थपे,
“मसँग विभिन्न दलका व्यक्तित्वले सल्लाह सुझाव दिनुभयो। तपाईंहरूजस्तो व्यक्तिले साझा व्यक्तिको रुपमा रहनुपर्छ। देशको अहिलेको तरल अवस्था अझै निश्चित आकार ग्रहण गरेको छैन।”
भट्टराईले स्पष्ट पारे कि चुनावी प्रतिस्पर्धामा सक्रिय रहनुभन्दा, बाहिरबाट अभिभावकीय भूमिका निर्वाह गर्दै दलहरूलाई सघाउन सकिने उत्तम विकल्प रहेको छ।
“मैले जीवनभरको अभिष्ट, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समृद्धिका लागि योगदान गर्न चाहन्छु। चुनौती थपिएका छन् र तीनको व्यवस्थापन गर्न आवश्यक छ। सबैको आग्रह बमोजिम बाहिर रहेर दलहरूलाई सहयोग गर्ने निर्णय गरेको छु,” उनले भने।
रास्वपा र प्रचण्डको आग्रहः उनको उम्मेदवारी फिर्ताका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आग्रह गरेको थियो। रास्वपाले यस क्षेत्रमा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई चुनावी मैदानमा उतारेको छ। बुर्लाकोटी यसै क्षेत्रबाट पूर्व निर्वाचनमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पराजित गरिसकेका छन्।
स्रोतका अनुसार, प्रचण्डले पनि बाबुरामलाई फोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। यसपटक प्रचण्डले गोरखा–२ निर्वाचन क्षेत्र छोड्दै अर्को क्षेत्रमा चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन्।
यसैबीच, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट लेखनाथ न्यौपाने उम्मेदवारको रुपमा प्रतिस्पर्धामा रहेका छन्। विश्लेषकहरू भन्छन् कि बाबुरामको उम्मेदवारी फिर्ताले राजनीतिक समीकरणमा असर पर्नेछ। रास्वपाको उम्मेदवार बुर्लाकोटी र अन्य मुख्य प्रतिद्वन्द्वीबीच प्रतिस्पर्धा अझ रोचक र संवेदनशील बन्नेछ।















