नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्ना ६ लाख ६७ हजारभन्दा बढी संगठित सदस्यहरूलाई एउटै सामग्री समेटिएको चिठी पठाएको छ। यो अभियानमा हाल सक्रिय सदस्य मात्र नभई पहिले संगठित सदस्य रहेर पछिल्लो समय नवीकरण नगरेका व्यक्तिहरूलाई समेत समेटिएको पार्टी स्रोतले जनाएको छ।
सामाजिक सञ्जालमा चिठी प्राप्त गरेको भन्दै सदस्यहरूले पोस्ट गर्न थालेपछि यो अभियान सार्वजनिक रूपमा थप चर्चामा आएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित पठाइएको चिठी स्पष्ट रूपमा निर्वाचन–केन्द्रित सन्देश बोकेको देखिन्छ। चिठीमा फागुन २१ गते हुने निर्वाचनलाई ‘देश विनाशतर्फ जाने कि निर्माणको मार्गमा अघि बढ्ने भन्ने निर्णायक मोड’का रूपमा चित्रण गरिएको छ।
ओलीले देश निर्माणका लागि एमालेको बहुमत आवश्यक रहेको उल्लेख गर्दै सदस्यहरूलाई पार्टी पक्षमा एकजुट हुन आह्वान गरेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार ठूलो संख्यामा सदस्यलाई एकैपटक व्यक्तिगत नाममा पठाइएको चिठी एमालेको संगठनात्मक शक्ति देखाउने र कार्यकर्ता मनोबल बढाउने रणनीति हो।
यसले पार्टीभित्र अनुशासन, एकता र सक्रियता बढाउनुका साथै, जरा तहसम्म चुनावी सन्देश पुर्याउने माध्यमको रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
डिजिटल प्लेटफर्म व्यापक रूपमा प्रयोग भइरहेको वर्तमान समयमा एमालेले भौतिक चिठीमार्फत सन्देश पठाउनु फरक रणनीतिक कदमका रूपमा हेरिएको छ। यसले पार्टी नेतृत्व र कार्यकर्ताबीच प्रत्यक्ष सम्बन्धको अनुभूति गराउने र भावनात्मक सम्बन्ध बलियो बनाउने उद्देश्य झल्काउँछ।
यसअघि पनि ओलीको हस्ताक्षरसहित यस्तै प्रकारको चिठी केन्द्रीय सदस्यहरूलाई पठाइसकेको एमालेले जनाएको छ।
यो अभियानले एमाले कार्यकर्ताहरूलाई घर–घरमा सक्रिय बनाउने, मतदाता परिचालनमा गति ल्याउने र चुनावी माहोल आफ्नो पक्षमा मोड्ने प्रयासका रूपमा लिइएको छ।
यद्यपि, यसले अन्य दलहरूलाई पनि आफ्ना संगठनात्मक रणनीति पुनः मूल्याङ्कन गर्न बाध्य पार्ने सम्भावना देखिएको छ।















