नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सर्लाहीमा भव्य स्वागतको तयारी गरिएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही–४ बाट उम्मेदवारी दर्ता गराइसकेपछि थापा आज पहिलो पटक आफ्नै निर्वाचन क्षेत्रमा पुग्दैछन्।
काठमाडौंबाट विमानमार्फत बाराको सिमरा पुगेका थापा त्यहाँबाट स्थलमार्ग हुँदै सर्लाही प्रस्थान गरेका हुन्। स्थानीय नेता तथा कार्यकर्ताहरूले ठाउँ–ठाउँमा स्वागत कार्यक्रम आयोजना गर्दै अभियानलाई उत्साहजनक बनाउने तयारी गरेका छन्।
कांग्रेसका युवा नेता रघु कार्कीका अनुसार थापा सिधै सर्लाही–४ को धनकौलस्थित क्षेत्रीय पार्टी कार्यालय पुग्ने कार्यक्रम रहेको छ।
‘हामी केही बेरमै सर्लाही पुग्दैछौँ,’ कार्कीले जानकारी दिँदै भने, ‘पहिलो गन्तव्य धनकौलस्थित क्षेत्रीय कार्यालय हो। त्यसक्रममा बाटोमा पर्ने विभिन्न स्थानमा राखिएका स्वागत कार्यक्रममा सभापतिज्यू सहभागी हुनुहुनेछ।’
धनकौलबाटै थापाले कार्यकर्ता, स्थानीय नेता र मतदातासँग प्रत्यक्ष भेटघाट सुरु गर्ने कार्यक्रम तय भएको छ।
सर्लाहीमा रहँदा थापाले विभिन्न स्थानीय तहमा आयोजना हुने अन्तर्क्रिया कार्यक्रम, जनसभा, संगठनात्मक बैठक तथा नागरिक संवाद कार्यक्रममा सहभागी हुनेछन्।
पार्टी स्रोतका अनुसार शिक्षा, रोजगारी, किसान समस्या, विकास पूर्वाधार र मधेसका विशेष मुद्दालाई चुनावी एजेन्डाको केन्द्रमा राख्दै थापाले मतदातासँग प्रत्यक्ष संवाद गर्ने तयारी गरेका छन्।
रघु कार्कीका अनुसार गगन थापा झण्डै एक सातासम्म मधेस प्रदेशमा रहनेछन्।
‘सभापतिज्यू सर्लाहीका अन्य निर्वाचन क्षेत्रहरूमा पनि पुग्नु हुनेछ,’ कार्कीले भने, ‘मधेसका अन्य जिल्लामा समेत संगठनात्मक भेटघाट र चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।’
यसलाई कांग्रेसले मधेस केन्द्रित चुनावी रणनीतिको महत्त्वपूर्ण चरणको रूपमा लिएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गगन थापाले माघ ६ गते वारेसमार्फत सर्लाही–४ बाट उम्मेदवारी दर्ता गराएका थिए।
यसअघि काठमाडौं–४ बाट निरन्तर निर्वाचित हुँदै आएका थापाको यसपटक मधेसबाट उम्मेदवारीलाई कांग्रेसको नयाँ राजनीतिक सन्देश र क्षेत्रीय सन्तुलन रणनीतिसँग जोडेर हेरिएको छ।
गगन थापाको आगमनसँगै सर्लाही–४ मा चुनावी गतिविधि थप तीव्र बनेको छ। कांग्रेस कार्यकर्ताहरू उत्साहका साथ अभियानमा जुटिरहेका छन् भने प्रतिस्पर्धी दलहरू पनि रणनीति पुनर्संरचना गर्न थालेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार थापाको उपस्थितिले मधेसको चुनावी माहोल राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा ल्याउने सम्भावना बढाएको छ।















