राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी अभियानलाई तीव्र बनाउँदै आइतबारदेखि पश्चिम नेपालतर्फ प्रस्थान गरेका छन्। त्यही समयमा उनकी पत्नी सविना काफ्लेले झापा–५ मा घरदैलो अभियान सुरु गर्दै पूर्वी क्षेत्रमा प्रचारको मोर्चा सम्हालेकी छन्।
रास्वपाले माघ ५ गते जनकपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गरेपछि बालेन झापा पुगेका थिए। माघ ६ गते झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएपछि उनले ताप्लेजुङ, पाँचथर, इलाम र झापाका विभिन्न स्थानमा आयोजित कार्यक्रमहरूमा सहभागिता जनाएका थिए।
पूर्वी नेपाल भ्रमण सकेर आइतबार काठमाडौँ फर्किएका बालेनले विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग रणनीतिक छलफल गरेका थिए। त्यसपछि सोमबार बिहान उनी पश्चिम अभियानका लागि प्रस्थान गरेका हुन्।
बालेन आज नेपालगञ्ज हुँदै बर्दिया पुग्ने कार्यक्रम रहेको छ। रास्वपाबाट बर्दिया–१ का प्रतिनिधिसभा उम्मेदवार ठाकुरसिंह थारूका अनुसार बालेनले बर्दियाका विभिन्न स्थानमा कार्यकर्ता, स्थानीय नेता तथा मतदातासँग भेटघाट गर्नेछन्।
यसलाई रास्वपाले पश्चिम नेपालमा संगठन विस्तार र चुनावी सन्देश प्रवाह गर्ने रणनीतिक अभियानको रूपमा लिएको छ।
बालेन पश्चिमतिर लागेका बेला झापा–५ मा उनकी पत्नी सविना काफ्लेले चुनावी प्रचार अभियानको नेतृत्व सम्हालेकी छन्। बालेनको सचिवालयका अनुसार सविना आज बिहानैदेखि घरदैलो कार्यक्रम र मतदाता भेटघाटमा सक्रिय रूपमा सहभागी हुँदै आएकी छन्।
आज बिहान उनी झापा क्षेत्र नम्बर ५ अन्तर्गत दमक नगरपालिका–९ मा आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा सहभागी भइन्। उराव बस्तीबाट सुरु भएको अभियान पाणिनि स्कुल, देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक हुँदै पुनः उराव बस्तीमै पुगेर सम्पन्न भएको थियो।
रास्वपाले आजै दिउँसो पनि झापा–५ मा घरदैलो कार्यक्रम आयोजना गरेको छ। पार्टीका अनुसार कमल गाउँपालिका–५ स्थित पाडाजुगी चोकबाट घरदैलो सुरु हुने छ, जसमा सविना काफ्ले पुनः सहभागी हुने कार्यक्रम रहेको छ।
रास्वपाले यसपटक पूर्व र पश्चिम दुवै क्षेत्रमा एकैसाथ सक्रिय अभियान सञ्चालन गर्दै संगठन सुदृढीकरण र मतदाता पहुँच विस्तारमा जोड दिएको देखिन्छ। बालेनको पश्चिम केन्द्रित भ्रमण र सविनाको झापा–५ मा घरदैलो अभियानलाई पार्टीको ‘दोहोरो मोर्चा’ चुनावी रणनीतिको रूपमा विश्लेषकहरूले हेरेका छन्।















