स्पेनी फुटबल महासंघका प्रमुख राफेल लुजानले फिफा विश्वकप २०३० को फाइनल खेल स्पेनमा आयोजना हुने दाबी गरेका छन्। मोरक्कोले फाइनल खेल आयोजना गर्न चासो देखाइरहेका बेला लुजानले स्पेनले लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक आयोजना गर्दै आएको अनुभवका आधारमा फाइनल खेल आयोजना गर्न पूर्ण रूपमा सक्षम रहेको बताएका हुन्।
फिफा विश्वकप २०३० केवल एउटा फुटबल प्रतियोगिता मात्र होइन, यो विश्वकपको सयौँ वार्षिकोत्सवसमेत हो। त्यसैले फाइनल खेल आयोजना गर्ने अवसर विश्वका लागि खेलकुदभन्दा माथि प्रतिष्ठाको विषय बनेको छ। यही सन्दर्भमा स्पेनी फुटबल महासंघ प्रमुख राफेल लुजानको दाबीले आयोजक राष्ट्रहरूबीच नयाँ प्रतिस्पर्धा सुरु भएको छ।
स्पेनले दशकौँदेखि ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक आयोजना गर्दै आएको अनुभव बोकेको देश हो। बर्नाबेउ र नोउ क्याम्पजस्ता ऐतिहासिक रंगशालाहरू स्पेनको बलियो पक्ष मानिन्छन्। यता मोरक्कोले भने अफ्रिकाको सबैभन्दा ठूलो रंगशाला ‘ग्रान्ड स्टेड हसन–२’ निर्माण गरेर विश्वकप फाइनल आयोजना गर्ने महत्त्वाकांक्षी योजना अघि सारेको छ।
फिफाले हालसम्म फाइनल खेलको स्थान तय नगरेको अवस्था रहँदा दुवै देशको दाबी राजनीतिक, कूटनीतिक र व्यावसायिक प्रभावसँग जोडिएको देखिन्छ। अन्ततः फाइनल खेल कहाँ हुन्छ भन्ने निर्णय केवल रंगशालाको क्षमता मात्र नभई सुरक्षा, यातायात, प्रसारण पूर्वाधार र विश्वव्यापी दर्शक व्यवस्थापन क्षमतामा आधारित हुनेछ।















