
पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन्। पहिलो खेल मध्याह्न १२ बजे बङ्गलादेश र भारतबीच हुनेछ भने घरेलु टोली नेपालले दिउँसो ३ बजे भुटानसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल र भुटान दुवै टोली यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका छन्। नेपाल भारतसँग १–० गोलले पराजित भएको थियो भने प्रतियोगिताको उद्घाटन खेलमा भुटान बङ्गलादेशसँग १२–० को फराकिलो अन्तरले पराजित भएको थियो। त्यसैले फाइनल पुग्ने सम्भावना जीवित राख्न आजको खेल दुवै टोलीका लागि अत्यन्त महत्वपूर्ण रहनेछ।
हालसम्म बङ्गलादेश र भारतले एक–एक खेल जित्दै समान तीन अङ्क जोडिसकेका छन्। प्रतियोगितामा यसपटक चार टोलीले सहभागिता जनाएका छन्। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन भइरहेको छ, जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्नेछन्।
लिग चरण समाप्त भएपछि शीर्ष दुई टोलीले माघ २४ गते हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology
© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology