युद्धउन्मुख अमेरिका र इरानबीच आज ओमानमा वार्ता हुने तयारी भएको छ।
वार्तामा सहभागी हुन इरानी विदेश मन्त्री अब्बास अराघची ओमानको राजधानी मस्कट पुगिसकेको अलजिजिरा ले उल्लेख गरेको छ। अमेरिकाको तर्फबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारहरू स्टिभ विटकोफ र जारेड कुश्नरले प्रतिनिधित्व गर्नेछन्।
मध्यपूर्वका कतार, टर्की र इजिप्टले वार्तामा छलफल गरिने प्रमुख विषयहरुको एउटा खाका प्रस्तुत गरेका छन्। तीमध्ये इरानले युरेनियम संवर्धनलाई उल्लेखनीय रूपमा सीमित गर्ने प्रतिबद्धता पनि समावेश छ।
त्यस्तै ब्यालिस्टिक मिसाइलको प्रयोगमा प्रतिबन्ध र क्षेत्रीय रूपमा इरानका सहयोगी समूहहरूलाई हतियार आपूर्ति सीमित गर्ने विषय पनि समावेश गरिएको छ।
इरान आणविक हतियार बनाउने कामबाट पछाडि हट्नुपर्ने अडान अमेरिकाले लामो समयदेखि राख्दै आएको छ। पछिल्लो समय इरानमा भएको सरकार विरोधी आन्दोलनलाई दबाएको भन्दै अमेरिकाले इरान नजिकैको समुन्द्रमा युद्धका लागि आवश्यक हतियार बोक्ने यरक्राफ्ट क्यारियर लिएर राखेको छ।
यसले दुई देशबीच युद्धको खतरा रहेको भन्दै विश्वभरबाट चिन्ता व्यक्त गरिएको छ। अमेरिका र इरानबीच सन् १९८० यता औपचारिक कूटनीतिक सम्बन्ध छैन।















