महोत्तरीमा प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक चहलपहलसँगै जिल्लाको आर्थिक गतिविधि पनि चलायमान बन्दै गएको छ। खासगरी होटल तथा सेवा क्षेत्रले चुनावी माहोलको प्रत्यक्ष लाभ लिन थालेका छन्।
राजनीतिक दल, उम्मेदवार र कार्यकर्ताको बाक्लो आवागमनले आगामी एक महिनासम्म ग्राहकको अभाव नहुने होटल व्यवसायीको भनाइ छ। निर्वाचन परिचालन कार्यालय खुल्ने क्रम बढेसँगै बजार क्षेत्रका होटल खचाखच देखिन थालेका छन्।
बर्दिबास क्षेत्रमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारका निर्वाचन कार्यालय सञ्चालनमा आएपछि होटलको व्यस्तता ह्वात्तै बढेको व्यवसायीहरू बताउँछन्। बर्दिबास चोक वरपर मात्रै एक दर्जनभन्दा बढी दलका कार्यालय खुलेसँगै बजारमा चहलपहल उल्लेख्य रूपमा बढेको छ।
महोत्तरीका चारवटै निर्वाचन क्षेत्रका केन्द्रहरू बजार क्षेत्रमा नै रहेकाले चुनावी गतिविधिको प्रभाव जिल्लाभर देखिन थालेको छ। बर्दिबास, बलवा, जलेश्वर र रामगोपालपुरसँगै मटिहानी, पिपरा, मनरा, सम्सी, गौशाला, सीतापुर, लोहारपट्टी, औरहीलगायतका बजार क्षेत्र अहिले राजनीतिक भेटघाट र छलफलको केन्द्र बनेका छन्।
चुनावी गतिविधिले होटल व्यवसायमात्र होइन, कपडा पसल, प्रिन्टिङ प्रेस, पेन्टर तथा प्रचार सामग्री तयार गर्ने व्यवसायलाई समेत चलायमान बनाएको व्यापारीहरूको भनाइ छ। झण्डा, ब्यानर र पर्चा–पम्प्लेटको माग बढेसँगै बजारमा आर्थिक गतिविधि थप सक्रिय बनेको छ।
व्यवसायीहरूका अनुसार निर्वाचन जनस्तरसम्म पुग्ने ‘महापर्व’ जस्तै भएकाले प्रचार औपचारिक रूपमा सुरु भएपछि बजारको चहलपहल अझ बढ्ने अपेक्षा गरिएको छ।















