वासिङ्टन/इस्लामावाद, मार्च २५, २०२६ – अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले एक महत्वपूर्ण कूटनीतिक पहल सुरु गरेको छ। न्युयोर्क टाइम्स र रोयटर्स लगायतका प्रतिष्ठित सञ्चारमाध्यमका अनुसार, अमेरिकाले पाकिस्तानको मध्यस्थतामा इरानलाई १५ बुँदे सर्तसहितको शान्ति प्रस्ताव पठाएको छ।
सन् २०२६ फेब्रुअरी २८ बाट सुरु भएको ‘अपरेसन एपिक फ्युरी’ (Operation Epic Fury) नामको यो सैन्य कारबाही चौथो हप्तामा प्रवेश गरिरहँदा यो प्रस्ताव सार्वजनिक भएको हो।
प्रस्तावका मुख्य बुँदाहरू: १५ बुँदे प्रस्तावमा इरानको परमाणु कार्यक्रमलाई पूर्ण रूपमा नष्ट गर्ने, युरेनियम संवर्द्धन शून्यमा झार्ने र इरानसँग रहेका सबै परमाणु भण्डार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) लाई बुझाउनुपर्ने सर्त राखिएको छ। साथै, रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलडमरू (Strait of Hormuz) लाई ‘खुला समुद्री क्षेत्र’ घोषणा गरी सबै देशका जहाजका लागि निर्बाध आवागमन सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।
यसका बदलामा अमेरिकाले इरानमाथिका सबै आर्थिक प्रतिबन्धहरू फुकुवा गर्ने र नागरिक प्रयोजनका लागि ऊर्जा उत्पादनमा प्राविधिक सहयोग गर्ने आश्वासन दिएको छ।
पाकिस्तानी मध्यस्थता: पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख असिम मुनिरले यस वार्ताका लागि सक्रिय भूमिका खेलिरहेका छन्। राष्ट्रपति ट्रम्पले हालै एक सामाजिक सञ्जालमा पाकिस्तानी प्रधानमन्त्रीको वार्ता प्रस्तावलाई ‘रि-सेयर’ गर्दै सकारात्मक संकेत दिएका छन्। अमेरिकी टोलीमा उपराष्ट्रपति जेडी भेन्स र विदेशमन्त्री मार्को रुबियो प्रत्यक्ष संलग्न रहेको बुझिएको छ।
इरानले यी मागहरूलाई ‘एकपक्षीय’ भने पनि हालैका दिनहरूमा अमेरिकी सैन्य कारबाहीका कारण आफ्नो ऊर्जा र रक्षा संरचनामा पुगेको क्षतिका कारण वार्तामा बस्न दबाबमा परेको विश्लेषण गरिएको छ।















