काठमाडौँ, २१ चैत । राजधानीको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन र बढ्दो आपराधिक गतिविधिलाई नियन्त्रण गर्न जिल्ला प्रहरी परिसर, काठमाडौँले रातभर विशेष ‘सर्च अपरेसन’ चलाएको छ। गुण्डागर्दी, ठगी र बिचौलिया कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँका विभिन्न क्षेत्रबाट १९५ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी रमेश थापाका अनुसार विशेष गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटकीय क्षेत्र ठमेल र बुढानीलकण्ठ लगायतका संवेदनशील स्थानहरूमा यो अपरेसन केन्द्रित गरिएको थियो। पक्राउ पर्नेहरूमा वैदेशिक रोजगारीबाट फर्केका यात्रुहरूलाई तातातान गरी दुःख दिने बिचौलियादेखि सहरमा गुण्डागर्दी र असुलीमा संलग्न पुराना अभियुक्तहरूसम्म रहेका छन्।
एसएसपी थापाले भने, “विमानस्थल र ठमेल जस्ता क्षेत्रमा यात्रु तथा पर्यटकलाई दुःख दिने, जबरजस्ती तानातान गर्ने र बिचौलियाको भूमिका खेल्नेहरूका कारण सुरक्षा चुनौती थपिएको थियो। हामीले रातभरको सूक्ष्म निगरानीपछि १९५ जनालाई नियन्त्रणमा लिएका छौँ।”
प्रहरीको यो ठूलो परिमाणको गिरफ्तारीले काठमाडौँको शान्ति सुरक्षामा सकारात्मक प्रभाव पार्ने देखिएको छ। विशेष गरी विमानस्थल क्षेत्रमा हुने बिचौलियाको रजगज र ठमेलमा हुने गुण्डागर्दीले नेपालको छविमा धक्का पुर्याइरहेको सन्दर्भमा यो ‘नाइट स्वीप’ अपरेसनलाई निकै अर्थपूर्ण मानिएको छ। प्रहरीले पक्राउ परेका सबैमाथि गहन अनुसन्धान सुरु गरेको र दोषी पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने जनाएको छ।















