चालू आर्थिक वर्षको ११ महिना सकिँदा सरकारले विकास बजेट भनिने पूँजीगत बजेटको ३२ दशमलव ५३ प्रतिशतमात्रै खर्च गरेको छ । पूँजीगततर्फको ४ खर्ब ७ अर्बमध्ये ११ महिना सकिँदा १ खर्ब ३२ अर्ब रुपैयाँमात्रै खर्च भएको हो ।
गएको वर्ष ३ खर्ब ५२ अर्बको बजेटमा यही समयमा १ खर्ब ४३ अर्ब रुपैयाँ पूँजीगत खर्च भएको थियो । नयाँ सरकार आएपछि विकास निर्माणको कामलाई प्राथमिकता दिने भने पनि खर्च भने बढ्न सकेको छैन ।
सरकारले चालू आर्थिक वर्ष कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ मसान्तसम्म कुल बजेट खर्च लक्ष्यको ६८ दशमलव ५६ प्रतिशत बराबर भएको छ । चालू खर्च लक्ष्यको ७६ दशमलव ९१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ८१ दशमलव ४७ प्रतिशत बराबर खर्च भएको छ ।
सरकारले चालू र वित्तीय व्यवस्थापनतर्फ उल्लेख्य खर्च गरे पनि विकासतर्फ भने काम गर्न नसकेको हो । विकास बजेट खर्च नहुँदा विकास निर्माणका काम नहुनुका साथै बजार चलायमानसमेत हुँदैन ।
सधैँजसो आर्थिक वर्षको अन्तिममा अर्थात् असारमा हतारहतार बजेट खर्च गर्दा अनियमितता बढेको गुनासो आउने गरेको छ । यसपालि पनि अवस्था उस्तै देखिएको हो ।
यस्तै राजस्व र आम्दानीसमेत ११ महिनामा लक्ष्यको ७२ दशमलव ४२ प्रतिशतमात्र भएको छ । ११ महिनामा सरकारले ११ खर्ब १० अर्ब आम्दानी गर्दा १३ खर्ब ४६ अर्ब रुपैयाँ खर्च पुगेको छ । अपुग २ खर्ब ३६ अर्ब रुपैयाँका लागि सरकारले ऋण लिएको छ ।















