काठमाडौं: भारतको ८०औँ स्वतन्त्रता दिवस काठमाडौंस्थित भारतीय दूतावासमा शनिबार विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ। कार्यक्रममा नेपालमा रहेका भारतीय समुदाय, भारतका मित्रहरू, दूतावासका अधिकारी तथा उनीहरूका परिवारको सहभागिता रहेको थियो।
कार्यक्रम ‘वन्दे मातरम्’ गायनबाट सुरु भएको थियो। त्यसपछि नेपालका लागि भारतीय राजदूतले राष्ट्रिय झण्डा फहराउनुभएको थियो भने राष्ट्रिय गान बजाइएको थियो। कार्यक्रममा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा दिनुभएको सम्बोधन पनि प्रसारण गरिएको थियो।
सो अवसरमा भारतीय सशस्त्र सेनाका ११ जना दिवंगत सैनिकका विधवा तथा निकटतम परिवारजनलाई सम्मान गरिएको थियो। उनीहरूलाई कुल ८ करोड २० लाख रुपैयाँ बराबरको आर्मी ग्रुप इन्स्योरेन्स फन्ड (AGIF) चेक हस्तान्तरण गरिएको थियो।
स्वतन्त्रता दिवसको अवसरमा दूतावासले आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेतालाई समेत सम्मान गरिएको थियो। ‘विकसित भारत’ विषयमा चित्रकला प्रतियोगिता, विकसित भारत रन र अन्तरविद्यालय क्विज प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो। साथै, विशेष संस्करणको ‘भारत को जानिए’ क्विजका विजेतालाई पनि सम्मान गरिएको थियो।
दूतावासले नेपालका ७ वटा प्रदेशमा रहेका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयलाई पुस्तक अनुदान उपलब्ध गराउने घोषणा गरेको छ। यस पहलले शैक्षिक सामग्रीमा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा भारतीय दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति तथा देशभक्तिपूर्ण गीत प्रस्तुत गरेका थिए। उत्साहपूर्ण सहभागिताका बीच सम्पन्न कार्यक्रमले भारत–नेपालबीचको जनस्तरको सम्बन्धलाई समेत प्रतिबिम्बित गरेको थियो।















