सर्मिला राेकाया
बाजुराको बुढीनन्दा नगरपालिका–१, स्थित कोल्टी आधारभूत अस्पतालमा विभिन्न विधाका ६ जना स्वास्थ्यकर्मीको टोली सेवा प्रवाहका लागि पुगेको छ । निक साईमन्स (Nick Simons) संस्थाको सहयोगमा बुढीनन्दा नगरपालिकामा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने उद्देश्यसहित स्वास्थ्यकर्मीको टोली कोल्टी पुगेको हो ।
दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै गुणस्तरीय स्वास्थ्य सेवाका लागि दक्ष स्वास्थ्यकर्मी कोल्टी पुगेको नगर प्रमुख जनक कुमार बोहराले जानकारी दिनुभएको छ । उहाँले दुर्गमका नागरीकले गुणस्तरीय सेवाका लागि लामो दूरी तय गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न स्वास्थ्यर्मीको टोली ५ वर्ष कोल्टीमा रहने बताउनुभयो ।
कोल्टी अस्पतालमा १ जना एम.डी.जी.पी रन्जीत शाह, १ जना एम.बी.बी.एस कैलाश लामा, १ जना एनेस्थेसिया असिस्टेन लोकेश कुँवर, १ जना बायोमेड सुरेश बानियाँ र २ जना ओटी नर्स संजिता खड्का र टेकसरा कुडमाल÷भण्डारी गरी ६ जना स्वास्थ्यकर्मी रहने छन् । आज ५ जना स्वास्थ्यकर्मीलाई स्वागत गरीएको र १ जना एम.डी.जी.पी उपस्थित हुन नसकेको एनेस्थेसिया असिस्टेन कुँवरले जानकारी दिनुभएको छ । उहाँले उहाँ पनि छिट्टै कोल्टी पुगेर सेवा सुरु गर्ने बताउनुभएको छ ।
स्वास्थ्यकर्मीहरूको आगमनसँगै सामान्य उपचारदेखि जटिल प्रकृतिका स्वास्थ्य सेवाका लागि समेत बाहिर जानुपर्ने अवस्थालाई क्रमशः न्यूनीकरण गर्न सहयोग पुग्ने स्थानीयले अपेक्षा गरेका छन । विशेषगरी शल्यक्रिया, एनेस्थेसिया तथा चिकित्सकीय सेवामा दक्ष जनशक्ति थपिएसँगै कोल्टी अस्पतालको सेवा प्रवाह, उपचार क्षमता र प्रभावकारिता अझ सुदृढ हुने उहाँले बताउनुभयो ।
कुँवरले अब आमा र बच्चाहरुले अकालमा ज्यान गुमाउनु नपर्ने बताउनुभयो । दुर्गम भूगोलका नागरिकका लागि स्वास्थ्य सेवा केवल उपचारको विषय मात्र नभई पहुँच, समय र जीवनसँग प्रत्यक्ष जोडिएको आवश्यकता रहेको छ । सामान्य स्वास्थ्य समस्या देखिँदासमेत विशेषज्ञ सेवा र आवश्यक जनशक्तिको अभावमा लामो दूरी पार गर्नुपर्ने बाध्यता रहेको अवस्थामा विभिन्न विधाका स्वास्थ्यकर्मीको उपस्थितिले स्थानीय नागरिकमा समयमै उपचार पाउने, सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने र जटिल अवस्थामा समेत स्थानीय अस्पतालप्रति भरोसा बढाउने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ ।
स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप, अनुभव र सेवाप्रतिको समर्पणले कोल्टी अस्पतालको उपचार प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । यसले अस्पताललाई केवल उपचार गर्ने केन्द्रका रूपमा मात्र नभई दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य सुरक्षाको भरोसायोग्य आधारका रूपमा अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।
आज कोल्टी अस्पतालको टोली तथा बुढीनन्दा नगरपालिकाले स्वास्थ्यकर्मीहरूलाई औपचारिक रूपमा स्वागत गर्दै दुर्गम क्षेत्रमा सेवा गर्न आउनुभएकोमा धन्यवाद व्यक्त गरेको छ । आवश्यक जनशक्ति तथा विशेषज्ञ सेवाको अभावमा लामो समयदेखि चुनौती सामना गर्दै आएको दुर्गम बाजुराका लागि संस्थाको सहयोगमा स्वास्थ्यकर्मीको आगमनले स्वास्थ्य सेवाप्रति नयाँ आशा, भरोसा र उत्साह थपेको नगर प्रमुख बोहराले बताउनुभएको छ ।
स्थानीय तह, अस्पताल र सहयोगी संस्थाबीचको सहकार्यले आगामी दिनमा दुर्गमका नागरिकले आफ्नै क्षेत्रमा अझ गुणस्तरीय, भरपर्दो र पहुँचयोग्य स्वास्थ्य सेवा प्राप्त गर्ने आधार थप मजबुत बन्ने उहाँले बताउनुभयो । दुर्गममा दक्ष जनशक्ति पुग्नु आफैंमा सेवा मात्र होइन—स्वास्थ्य अधिकारलाई नागरिकको घरदैलोसम्म पु¥याउने महत्वपूर्ण प्रयास भएको स्थानीयको भनाई छ ।















