काठमाडौं: रसुवामा आएको विनाशकारी बाढीपछि भारतले नेपाललाई उपलब्ध गराउँदै आएको राहत तथा उद्धार सहयोगलाई निरन्तरता दिएको छ। भारतबाट थप दुई वटा राहत उडान काठमाडौं आइपुगेका छन्।
भारतीय वायुसेनाका C-130J विमानमार्फत गरिएको छैटौँ र सातौँ राहत उडानबाट कुल २१.५ टन राहत सामग्री नेपाल ल्याइएको हो। सामग्रीमा फरेन्सिक किट तथा स्वास्थ्यसम्बन्धी सामग्रीसमेत रहेका छन्।
काठमाडौं आइपुगेका राहत सामग्री नेपाललाई हस्तान्तरण गरिएको छ। यी सामग्रीले रसुवा बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार, राहत र पहिचानसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भारतले रसुवा बाढीबाट प्रभावित समुदायलाई सहयोग पुर्याउन नेपालका उद्धार तथा राहत प्रयासमा निरन्तर सहकार्य गर्दै आएको छ।















