सर्मिला राेकाया
बाजुराको बुढीनन्दा नगरपालिका–२, कोल्टीमा दिगो एकीकृत खेती प्रणालीसम्बन्धी पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । ली बर्ड,FWEAN , KCDC को साझेदारी तथा डब्लुएचएच, बीएमजेड जर्मनीको आर्थिक तथा प्राविधिक सहयोगमा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको हो ।
स्थानीयस्तरमा पर्यावरणीय कृषिसम्बन्धी असल अभ्यासको सीप विस्तार गर्दै दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा बाजुराको बुढीनन्दा नगरपालिका र मुगुको खत्याड गाउँपालिकाका कृषि प्राविधिक तथा कृषकको सहभागिता रहेको थियो । तालिममा दुवै स्थानीय तहका २ जना कृषि प्राविधिक र २३ जना कृषक गरी जम्मा २५ जनाको सहभागिता रहेको इम्पावर परियोजनाका जिल्ला संयोजक प्रभाकर जोशीले जानकारी दिनुभयो ।
तालिमको मुख्य उद्देश्य स्थानीयस्तरमै पर्यावरणीय कृषि प्रविधि र असल अभ्यासलाई विस्तार गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु रहेको उहाँले बताउनुभयो । तालिमबाट प्राप्त ज्ञान र सीपलाई कृषक पाठशालामार्फत समुदायस्तरसम्म पु¥याउने तथा पर्यावरणीय कृषि नमुना गाउँ विकासका लागि नमुना फर्म स्थापना र विकास गर्ने कार्ययोजना समेत अघि सारिएको उहाँले बताउनुभयो ।
बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनककुमार बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनजीओ तथा आईएनजीओ फोकल पर्सन विर्जन शाही विशिष्ट अतिथि तथा नेपाल प्रेस सुदूरपश्चिम प्रदेश प्रमुख भानुभक्त आचार्य अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
तालिममा खत्याड गाउँपालिकाबाट सहभागी चिना टमटाले परम्परागत रूपमा गर्दै आएको खेती दिगो भए पनि एकीकृत खेती, हावा, मललगायतका विषयमा नयाँ ज्ञान तथा सीप सिक्ने अवसर प्राप्त भएको बताउनुभयो । उहाँले तालिमबाट सिकेको ज्ञान र सीपलाई व्यवहारमा लागू गर्दै समुदायस्तरसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै, बुढीनन्दा नगरपालिकाका सहभागी सुकवीर खड्काले परम्परागत खेती प्रणालीलाई थप सुधार गर्दै माटोको उर्वराशक्ति बढाउन तालिमले दिगो तथा नयाँ प्रविधिमा आधारित खेती प्रणाली विस्तार गर्न सहयोग पुग्ने बताउनुभयो ।
तालिमको समापन गर्दै नगरप्रमुख जनककुमार बोहराले बाजुरा र मुगुमा भोकमरी तथा अभाव हुन्छ भन्ने बाह्य धारणा परिवर्तन गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीयस्तरमा उत्पादन हुने कृषि तथा अन्य जैविक वस्तु पर्याप्त रहेको उल्लेख गर्दै भन्नुभयो, “महँगो प्लेन चढ्ने, चामल र कपडा किनेर खाने हामी गरिब होइनौँ। हाम्रो सम्भावना र स्रोतलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी छ ।”
नगरप्रमुख बोहराले बाजुरा र मुगुले देशलाई भाषा, संस्कृति र सभ्यता दिएको उल्लेख गर्दै स्थानीय तथा अर्गानिक कृषि उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । स्थानीय उत्पादनको गुणस्तर र मात्रा बढाउन सके बजारको समस्या नरहने उहाँको भनाइ थियो । उहाँले दिगो कृषि प्रणालीको विकाससँगै स्थानीय उत्पादनको बजारीकरण, कृषकको आयआर्जन वृद्धि र आत्मनिर्भरतातर्फ स्थानीय तहले थप पहल गर्नुपर्नेमा जोड दिनुभयो ।















