
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा हालै आएको बाढीपहिरोपछि अष्ट्रेलिया सरकारले गरेको सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टसँग भएको शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले यस्तो धन्यवाद व्यक्त गरेका हुन्।
भेटमा प्रधानमन्त्री शाहले बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको जानकारी दिँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले उपलब्ध स्रोतसाधन परिचालन गरिरहेको बताए।
विपद्पछि अष्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटर, राहत सामग्रीसहित १७ सदस्यीय विपद् सहकार्य तथा प्रतिकार्य टोली नेपाल पठाएकोमा उनले प्रशंसा गरे। अष्ट्रेलियाले उपलब्ध गराएको ११ मिलियन अष्ट्रेलियन डलर सहयोगले दुई देशबीचको सम्बन्धलाई थप प्रतिबिम्बित गरेको उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले बाढीका क्रममा बेपत्ता भएका अष्ट्रेलियन नागरिकको खोजीलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको पनि बताए। साथै, मानव संसाधन विकासमा अष्ट्रेलियाले गर्दै आएको निरन्तर सहयोगप्रति उनले धन्यवाद व्यक्त गरे।
भेटका क्रममा राजदूत अर्न्स्टले प्राकृतिक विपद्बाट नेपालमा भएको क्षतिप्रति समवेदना व्यक्त गर्दै हालै संयुक्त राष्ट्रसंघमा नेपालको सहभागिताको प्रशंसा गरेका थिए।

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology
© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology