सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको श्री भूमेश्वर माध्यमिक विद्यालयको नयाँ भवन आज औपचारिक रूपमा उद्घाटन गरिएको छ ।
पाटन नगरपालिका–४ मा निर्माण भएको उक्त विद्यालय भवनको उद्घाटन काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री नारायण सिंह र पाटन नगरपालिकाका मेयर श्री गौरी सिंह रावलले संयुक्त रूपमा गरेका हुन् । यो निर्माण कार्य “उच्च प्रभाव सामुदायिक विकास परियोजना” अन्तर्गत अघि बढाइएको हो, जसको कार्यान्वयन पाटन नगरपालिका, बैतडीमार्फत गरिएको थियो ।
श्री भूमेश्वर माध्यमिक विद्यालयको स्थापना सन् १९५१ मा भएको हो । विद्यालयलाई सन् २०११ मा सरकारले माध्यमिक तहमा स्तरोन्नति गरेको थियो । हाल विद्यालयमा करिब ३०० विद्यार्थी अध्ययनरत छन् ।
उद्घाटन कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाहरूले भारत सरकारले प्रदान गर्दै आएको विकास सहयोगको प्रशंसा गरे । उनीहरूले नयाँ भौतिक संरचनाले यस क्षेत्रको शैक्षिक पूर्वाधारलाई मजबुत बनाउने र विद्यार्थीहरूको सिकाइ वातावरण अझ राम्रो हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल–भारतबीचको ऐतिहासिक मित्रता र बहुआयामिक सहकार्यलाई स्मरण गर्दै उच्च प्रभाव सामुदायिक विकास परियोजनाले स्थानीय तहमा प्राथमिकताका क्षेत्रमा पूर्वाधार विस्तार गर्न मद्दत पुगेको उल्लेख गरियो । यसले नेपाल सरकारले अघि बढाएका विकास प्रयासहरूलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।















