स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव संगीता कौशल मिश्रासँग विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ । स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा बुधबार विशेष अदालतले धरौटी तोकेको हो ।
अख्तियारले २०८२ कात्तिक १ गते मिश्रासहित १४ जनाविरुद्ध १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा थुनछेक बहस सम्पन्न भएपछि न्यायाधीश नारायण पौडेल, डिल्लीरत्न श्रेष्ठ र बिदुर कोइरालाको इजलासले तत्काल उपलब्ध प्रमाणका आधारमा मिश्रालाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
अदालतले तोकेको धरौटी बुझाएपछि मिश्रालाई बुधबार नै रिहा गरिएको छ । उनी बुधबार बिहान विशेष अदालतमा उपस्थित भएकी थिइन् ।
यस प्रकरणमा अख्तियारले मिश्रासहित व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा. श्रवणकुमार थापा, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्रकुमार चौरसिया, विभागका निर्देशक डा. विवेकुमार लाल लगायत अन्य अधिकारी तथा निजी कम्पनीसमेतलाई प्रतिवादी बनाएको छ ।
प्रतिवादीहरूमा तत्कालीन प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, कानुन अधिकृत सीता घिमिरे, वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक अधिकारी, शाखा अधिकृत यादवप्रसाद सापकोटा, लेखा अधिकृत शम्भूप्रसाद ढकाल, लेखापाल तिलकराम ढकाल, बायोमेडिकल इन्जिनियर आशिष चौहान, पद्मा मिश्र, जनस्वास्थ्य निरीक्षक सञ्जयकुमार शाह तथा आपूर्ति कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालिका प्रमुख सुन्दर भुसालसमेत रहेका छन् ।
अख्तियारले उनीहरूमाथि जनही १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँका दरले बिगो कायम गर्दै स्वास्थ्य उपकरण खरिदलगायत प्रक्रियामा अनियमितता गरेको आरोप लगाएको छ ।
उल्लेखनीय छ, मिश्राको नाम पछिल्लो समय सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा स्वास्थ्य मन्त्री बन्ने सम्भावित व्यक्तिको रूपमा चर्चामा आएको थियो । सोही कारण उनले अतिरिक्त सचिव पदबाट राजीनामा समेत दिएकी थिइन् । तर भ्रष्टाचारसम्बन्धी अनुसन्धान भइरहेको खुलासा भएपछि अन्तिम समयमा उनको नियुक्ति रोकिएको थियो ।















