यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले बुधबार परीक्षा तालिका सार्वजनिक गर्दै उक्त मितिमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
बोर्डका अनुसार यस वर्ष एसईई परीक्षाका लागि कुल ५ लाख १७ हजार परीक्षार्थीले आवेदन फारम भरेका छन् । देशभरका परीक्षा केन्द्रमार्फत एकैसाथ परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ ।
यसअघि प्रत्येक वर्ष चैतको पहिलो साताबाट सञ्चालन हुँदै आएको एसईई परीक्षा यस पटक केही दिन ढिलो गरिएको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण बोर्डले परीक्षा तालिकामा परिमार्जन गरेको जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार निर्वाचनका लागि आवश्यक मतपत्र र एसईई परीक्षाका प्रश्नपत्र छपाइको जिम्मेवारी जनक शिक्षा सामग्री केन्द्रलाई दिइने भएकाले दुवै कार्य एकै समयमा सञ्चालन गर्दा प्राविधिक तथा व्यवस्थापन चुनौती बढ्ने देखिएपछि परीक्षा मिति सारिएको हो ।
बोर्डले निर्धारित नयाँ तालिकाअनुसार परीक्षा सञ्चालनका लागि सबै परीक्षा केन्द्र, विद्यालय र सम्बन्धित निकायलाई आवश्यक तयारीमा जुट्न निर्देशनसमेत दिएको छ ।















