नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन आयोजना गर्न नसकिने स्पष्ट पारेका छन्। बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र त्यसपछिका राजनीतिक गतिविधिका कारण निर्धारित समयमा महाधिवेशन सम्भव नहुने बताएका हुन्।
घिमिरेका अनुसार कांग्रेसले अब २०८३ पुस मसान्तभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने तयारी अघि बढाउनेछ। विशेष महाधिवेशनपछि पार्टी संगठनात्मक रूपमा थप एकताबद्ध बनेको दाबी गर्दै उनले आगामी निर्वाचनका लागि दीर्घकालीन सोचसहितको घोषणापत्र सार्वजनिक गरिने जानकारी दिए।
त्यस्तै, महामन्त्री घिमिरेले आगामी संसदीय दलको बैठकले सर्वसम्मत रूपमा सभापति गगन थापालाई संसदीय दलको नेता चयन गर्ने र उनी भावी प्रधानमन्त्री बन्ने दाबीसमेत गरे।
उनले राष्ट्रिय सभा निर्वाचनका लागि पहिले नै गठबन्धन भइसकेकाले त्यसले निरन्तरता पाउने बताए। यद्यपि, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेस कुनै दलसँग चुनावी गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा उत्रिने स्पष्ट पारे। निर्वाचनपछिको परिणामका आधारमा भने आवश्यक परे गठबन्धन हुन सक्ने सम्भावना खुला रहेको उनले बताए।















