हरेक दिन नयाँ कीर्तिमान बनाउँदै आएको नेपाली बजारको सुनचाँदीको मूल्य आज फेरि ऐतिहासिक उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा महँगो मूल्य हो।
हिजो मात्रै सुनको मूल्य एकैदिन तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ पुगेको थियो। त्यसअघि शुक्रबार सुनको मूल्य तोलामा ९ हजार २ सय रुपैयाँले बढेको थियो भने आइतबार पनि २ हजार ४ सय रुपैयाँले वृद्धि भएको थियो।
गत बुधबार सुनको मूल्य एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँले उकालो लागेको थियो। त्यसको भोलिपल्ट बिहीबार भने तोलामा २ हजार ९ सय रुपैयाँ घटेको थियो। त्यसयता पुनः लगातार बढ्दो क्रममा रहेको सुनको भाउले बजारमा अस्थिरता बढाएको देखिन्छ।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, डलरको विनिमय दर, भूराजनीतिक तनाव र लगानीकर्ताको सुरक्षित लगानीप्रतिको आकर्षणले सुनको मूल्यमा लगातार दबाब सिर्जना भइरहेको छ।
आज चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। तोलामा १०५ रुपैयाँले बढ्दै चाँदीको भाउ ६ हजार ८७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य तोलाको ६ हजार ७६५ रुपैयाँ थियो।
सुनचाँदीको मूल्य लगातार बढ्दा गहना खरिद गर्ने उपभोक्ता प्रभावित भएका छन् भने व्यवसायीहरूले कारोबार सुस्ताएको गुनासो गरेका छन्। विवाह तथा चाडपर्वको मौसम नजिकिँदै गर्दा मूल्य वृद्धिले बजार झन् चुनौतीपूर्ण बन्ने संकेत देखिएको छ।















