नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशबाट प्रतिनिधिसभा निर्वाचन लड्ने निर्णय अचानक नभई गहिरो सोचविचार र रणनीतिक मूल्याङ्कनका आधारमा गरिएको बताएका छन्। मंगलबार बिहान सर्लाही–४ स्थित आफ्नो निर्वाचन क्षेत्रमा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै उनले मधेश झर्नु आफ्नो व्यक्तिगत छनोट र राजनीतिक प्रतिबद्धताको हिस्सा भएको स्पष्ट पारे।
थापाले मधेशका शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या केवल क्षेत्रीय नभई राष्ट्रिय सरोकारसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गरे। ‘यहाँ शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या छन्, जुन देशभरिका समस्यासँग जोडिन्छन्। त्यसैले मधेश आउने कुरा मेरो सुझबुझको निर्णय हो। मैले सचेत रूपमा यो माटोसँग जोडिने निर्णय गरेको हुँ,’ उनले भने।
थापाले सर्लाही जिल्ला कांग्रेस समितिले पटक–पटक उम्मेदवार बन्न आग्रह गरेको जानकारी दिँदै यस पटक पनि पार्टी कार्यकर्ता र स्थानीय नेताहरूको विश्वासका कारण आफू उम्मेदवारी दिन तयार भएको बताए।
‘यसपटक पनि मलाई यहीँबाट उम्मेदवार बन्न माया गरेर बोलाउनुभयो। मधेश जाने मेरो मन थियो र सर्लाही क्षेत्र नम्बर ४ ले अवसर दिनुभयो, त्यसैले यो सम्भव भयो,’ उनले थपे।
थापाले मधेशका मुद्दा नजिकबाट बुझ्न, प्रत्यक्ष अनुभूति गर्न र भोलि संसदमा ती विषयलाई प्रभावकारी ढंगले उठाउन भित्रि मधेशको क्षेत्र रोजेको बताए।
‘अब म विश्वासका साथ भन्न सक्छु, काठमाडौँमा मधेशबारे हुने बहसको स्वरूप बदलिन्छ। हिजो मधेशका मुद्दा कहिले उठ्दैनथे, पछि उठ्न थाले, तर अब केवल उठ्ने मात्र होइन, समाधान हुने चरणमा प्रवेश गर्नुपर्छ,’ थापाले भने।
थापाको भनाइले मधेशप्रति दीर्घकालीन राजनीतिक प्रतिबद्धता र क्षेत्रीय असमानता अन्त्य गर्ने एजेन्डालाई प्राथमिकतामा राखेर चुनावी रणनीति तय गरिएको संकेत गर्छ। उनले मधेशलाई केवल मत प्राप्त गर्ने क्षेत्रका रूपमा होइन, नीति निर्माणको केन्द्रमा राख्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे।















