निर्वाचन आयोगले मिथ्या, भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्ति तथा संस्थामाथि कडा निगरानी सुरु गरेको छ। सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म पहिचान गरिएका ३०२ वटा हानिकारक सूचना सम्बन्धित निकायमा कारबाहीका लागि पठाइएको छ।
आयोगले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउने उद्देश्यले निर्वाचन आचारसंहिता, २०८२ लागू गरिसकेको छ। राजनीतिक दल र उम्मेदवारका निर्वाचन खर्चका लागि अलग्गै बैंक खाता खोल्न पनि आयोगले राष्ट्र बैंकलाई निर्देशन दिएको छ।
जिल्लास्तरमा आचारसंहिता अनुगमनको जिम्मेवारी सहायक प्रमुख जिल्ला अधिकारी तथा कोष नियन्त्रकहरूलाई तोकिएको छ। निर्वाचनमा कुनै अनियमितता देखिएमा लिखित, मौखिक वा विद्युतीय माध्यमबाट उजुरी दिन सकिने आयोगले जानकारी दिएको छ।















