नेकपा एमालेका नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेलले आफ्नो पार्टी स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता र सुशासनका लागि प्रतिबद्ध रहेको बताएका छन्।
प्रेस चौतारी नेपालले बुधबार आयोजना गरेको ‘उम्मेदवारसँग पत्रकार सम्मेलन’ मा बोल्दै पोखरेलले आगामी चुनावी घोषणापत्रमा यी विषयहरूलाई प्राथमिकता दिने स्पष्ट पारे। उनले राष्ट्रियता र विकासका मुद्दामा सम्झौता नगर्ने दृढता व्यक्त गर्दै संविधान संशोधन, शासकीय स्वरूप सुधार, निर्वाचन प्रणाली र सेवा प्रवाहमा आवश्यक सुधार गर्न पार्टी तयार रहेको बताए।
पोखरेलले विगतका संवैधानिक र प्रशासनिक चुनौतीका कारण जनतालाई अपेक्षित प्रतिफल नपाएको स्वीकार्दै, एमालेले अब सुधारका लागि विशेष पहल गर्ने पनि बताएका छन्। यसपटकको घोषणापत्र केवल नारामा सीमित नहुने, निश्चित समयसीमा भित्र कार्यान्वयन हुने र परिणाममुखी हुने उनको दाबी छ।
उनले एमालेलाई कमजोर बनाउन कतिपय षड्यन्त्र भइरहेको आरोप लगाउँदै, पार्टी भित्रै बलियो बनेर विरोधीहरूको चाल सफल हुन नदिने बताए।















