उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी भाषणले नभई जनताको मत जितेर देशको नेतृत्व गर्ने दाबी गरेको बताएका छन्। बिहीबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले सामाजिक सञ्जालमा मात्र नभई जनतालाई डेलिभरी प्रदान गरेर आफ्नो पार्टी स्थापित भएको बताए।
उनले भाषणले प्रधानमन्त्री नबन्ने र काम गरेर मात्र जनताको मन जितेपछि प्रधानमन्त्री बन्न सकिने बताए। घिसिङका अनुसार, उज्यालो नेपाल पार्टीले जेनजी आन्दोलनको भावना अनुसार देशमा परिवर्तन ल्याउने लक्ष्य लिएको छ।
अध्यक्ष घिसिङले आगामी निर्वाचनमा मधेस प्रदेशमा पार्टीका धेरै उम्मेदवार रहेका कारण नतिजा पनि आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे। उनले हाल मधेसका मतदाता भेट्न आएका हुन् भने पछि एजेन्डासहित पुन: भ्रमण गर्ने योजना रहेको जानकारी दिए।















