आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा दार्चुला यसपटक विगतभन्दा बिल्कुलै फरक छ। सधैं नेपाली कांग्रेस र नेकपा एमालेबिच मात्र प्रतिस्पर्धा सीमित रहने यस जिल्लामा यसपटक नयाँ दल र अन्य विकल्पले पुराना दलको गणित बदल्न सक्ने संकेत देखिएको छ।
एकमात्र निर्वाचन क्षेत्रमा यसपटक कुल ११ उम्मेदवार मैदानमा छन्। मुख्य दलका उम्मेदवारमा एमालेबाट पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, कांग्रेसबाट नयाँ अनुहार धर्मानन्द जोशी, नेकपाबाट लक्ष्मणदत्त जोशी छन्। रास्वपा र राप्रपाले पनि आफ्नो सशक्त उपस्थिति देखाउँदै पुराना दलको मत काट्ने रणनीति बनाएका छन्।
एमालेका ठगुन्ना दार्चुलाका परिचित नेता हुन्। उनले २०७० र २०७४ को निर्वाचनमा भारी मतले जित हासिल गरेका थिए, तर २०७९ मा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका कारण पराजित भएका थिए।
कांग्रेसले धर्मानन्द जोशीलाई नयाँ अनुहारको रूपमा अघि सारेको छ। जोशी कानुनी क्षेत्रमा अनुभवी र बौद्धिक पृष्ठभूमि भएका उम्मेदवार हुन्। तर एमालेको बलियो संगठन र गुटबन्दीको चुनौती उनीका लागि ठूलो छ।
रास्वपा उम्मेदवार राजेशसिंह सामन्त स्थानीय शिक्षक र युवा मतदाताको आकर्षणका कारण तेस्रो शक्तिको रूपमा उदाउँन सक्ने चर्चा छ। राप्रपाका राजेश चन्द पनि आफ्नो सुरक्षा पृष्ठभूमि र राष्ट्रियतावादी मतदातालाई लक्षित गर्दै मैदानमा छन्।
दार्चुलाको निर्वाचन इतिहास हेर्दा मुख्यतः कांग्रेस र एमालेको वर्चस्व रहँदै आएको छ। तर यसपटक नयाँ दल र वैकल्पी उम्मेदवारको उपस्थितिले मतको समीकरण फेरिन सक्ने सम्भावना छ।
जिल्लामा कुल ९२,९४८ मतदाता छन्। स्थानीय मतदाताका अनुसार, युवा पुस्ता र परिवर्तन चाहने मतदाताले नयाँ उम्मेदवारलाई अवसर दिने सम्भावना बढेको देखिन्छ।















