नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लोकतन्त्रमाथि प्रहार गर्ने भूराजनीतिक चलखेल भइरहेको दाबी गरेका छन्। सोमबार नेकपा काठमाडौँ–५ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले अन्तर्राष्ट्रिय शक्तिहरूले विभिन्न देशमा पपुलिजमको प्रयोग गर्दै लोकतन्त्र र समाजवादविरुद्ध आक्रमण गरिरहेको र नेपालमा पनि त्यही अन्तर्राष्ट्रिय प्रवृत्ति दोहोरिन खोजिएको बताए।
प्रचण्डले सामाजिक सञ्जालमार्फत फण्डा चलाउने समूहहरूसँग कुनै ठोस योजना र एजेन्डा नभएको टिप्पणी गरे। उनका अनुसार यस्तो प्रवृत्तिले जनतालाई भ्रममा पार्ने प्रयास गरिए पनि त्यसले दीर्घकालीन राजनीतिक समाधान दिन सक्दैन।
अन्तर्राष्ट्रिय हस्तक्षेप र भूराजनीतिक दबाबको प्रतिवाद गर्न जनताको तागत आवश्यक रहेको उल्लेख गर्दै उनले नयाँ संकल्प र गहिरो समीक्षा सहित अघि बढ्नुपर्ने बताए। यही उद्देश्यका साथ नेपाली कम्युनिस्ट पार्टी निर्माण गरिएको उनको भनाइ थियो।
उनले नेकपा सबै कम्युनिस्ट शक्तिलाई समेट्न सक्ने साझा पार्टी भएको दाबी गर्दै हाल पार्टीमा साना र ठूला गरी २६ वटा कम्युनिस्ट दल तथा हजारौँ कार्यकर्ता आबद्ध भइसकेको जानकारी दिए।
प्रचण्डले नेकपाले सुरुदेखि नै निर्वाचनलाई प्राथमिकतामा राखेको र अहिले देश नै निर्वाचनमा होमिएको अवस्थामा पार्टी दिनप्रतिदिन बलियो बन्दै गएको दाबी गरे।















