नेपाल–भारत सुरक्षा विशेषज्ञहरूले आगामी निर्वाचनले मात्र देशमा स्थिरता सुनिश्चित नगर्ने बताएका छन्। नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्गेजमेण्टको दशौं वार्षिकोत्सव समारोहमा बोल्दै, विज्ञहरूले निर्वाचनको सामरिक प्रभाव र त्यसले निम्त्याउने सुरक्षा चुनौतीहरूको विश्लेषण गरेका हुन्।
वक्ताहरूले अनुभवी राष्ट्रवाद, सुधारवादी युवा नेतृत्व, उदाउँदो नयाँ शक्ति र राजतन्त्र पुनर्स्थापनाको पक्षधरबीचको जटिल राजनीतिक परिदृश्यमा निर्वाचनले मात्र स्थिरता ल्याउन सक्दैन भने। भारतीय नौसेनाका पूर्वनिर्देशक सञ्जय जसजीत सिंहले दक्षिण एशियामा भूगोल मात्र नभई राजनीति र सुरक्षा सम्बन्धले राष्ट्रको नियति निर्धारण हुने बताएका छन्।
विशेषज्ञहरूले खुला सीमा, लागुपदार्थ र अवैध व्यापार जस्ता चुनौतीहरूलाई औँल्याउँदै सुरक्षा सहयोगलाई दुई देशबीचको ‘मेरुदण्ड’ को रुपमा व्याख्या गरे। उनीहरूले युरोपका भू–परिवेष्ठित राष्ट्रहरूको उदाहरण दिँदै भने, स्विट्जरल्याण्ड र अस्ट्रिया जस्ता देशमा भूगोलले मात्र ल्याण्डलकता तय गरेको भए पनि दक्षिण एशियामा राजनीतिक र सुरक्षा पक्षले राष्ट्रको भविष्यमा बढी प्रभाव पार्छ।
नारकोटिक्सको ओसारपसार, अफिमको अवैध व्यापार र १ हजार किलोमिटरभन्दा लामो खुला सीमाको व्यवस्थापन चुनौतीपूर्ण भएको भन्दै विज्ञहरूले नेपाल–भारतबीचको सुरक्षा सहयोगको महत्त्व स्पष्ट पारे।















