नेपाल कम्युनिस्ट पार्टी (एमाले)का आम निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले जेनजी आन्दोलनका जायज पक्षको आफ्नो पार्टीले विरोध नगरेको स्पष्ट पारेका छन्। शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आन्दोलनका क्रममा भएका हिंसा र आगजनीका घटनाको मात्रै एमालेले विरोध गरेको बताएका हुन्।
शाहीले जेनजी पुस्ताले उठाएका सुशासन, भ्रष्टाचार न्यूनीकरण र सेवा प्रवाह प्रभावकारी बनाउने मागहरू आफूहरूले पहिलेदेखि नै उठाउँदै आएको दाबी गरे। उनले भने, ‘जेनजी पुस्ताले उठाएका जायज रूपान्तरणका मागमा एमालेको विरोध छैन, भ्रम नपरोस्।’
उनका अनुसार एमालेले हिंसा, आगजनी, विध्वंस र दण्डहीनताको मात्रै विरोध गरेको हो। ‘हामीलाई हिंसा स्वीकार्य छैन। हामीलाई विध्वंस स्वीकार्य छैन। दण्डहीनता किमार्थ स्वीकार्य छैन,’ उनले स्पष्ट पारे।
राज्यका सम्पत्ति क्षतिग्रस्त पार्ने, जेल तोड्ने जस्ता गतिविधिको पार्टीले सधैं विरोध गर्ने बताउँदै शाहीले सिंहदरबार, प्रतिनिधिसभा तथा नख्खु जेलसँग सम्बन्धित घटनालाई लिएर एमालेले आपत्ति जनाएको उल्लेख गरे।















