सर्वोच्च अदालतले सर्लाहीका कुमार पौडेल इन्काउन्टर प्रकरणमा अनुसन्धान गर्न परमादेश जारी गरेको छ । पौडेलकी आमा दुर्गादेवीले पाँच वर्षअघि दायर गरेको रिटमाथि फैसला गर्दै अनुसन्धान गर्न आदेश गरेको हो ।
यद्यपि, लिखित आदेश भने आइसकेको छैन । सर्वोच्चको वेबसाइटमा परमादेश जारी भएको जानकारी दिइएको छ । दुर्गादेवीले १२ मंसिर ०७७ मा रिट दर्ता गराएकी थिइन् । कुमार पौडेललाई प्रहरीले ५ असार ०७६ मा गोली हानी हत्या गरेको थियो । लखनदेही जंगलनजिक दिउँसो १ बजे इन्काउन्टरमा मृत्यु भएको प्रहरीको बयान थियो ।
परिवारजनले भने तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलदेखि प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतका व्यक्तिमाथि किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले जाहेरी लिन नमानेपछि सरकारी वकिलको कार्यालयमार्फत जाहेरी दिइएको थियो । यसमा बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, मधेश प्रदेशका डिआइजी हरिबहादुर पाललगायतको नाम पनि सामेल थियो । तर, उक्त जाहेरी अलपत्र परेको र अनुसन्धान सुरु नभएको दाबीसहित दुर्गादेवीले रिट दर्ता गराएकी थिइन् ।















