सोलुखुम्बु: कोशी प्रदेशअन्तर्गत सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बा भवन निर्माणका लागि शिलान्यास गरिएको छ।
गुम्बा भवनको शिलान्यास लिखु पिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेत र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रूपमा गर्नुभएको हो।
भारत सरकारको करिब ३ करोड ३० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने उक्त गुम्बा भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत लिखु पिके गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ। यो सोलुखुम्बु जिल्लामा भारत सरकारको सहयोगमा अघि बढाइएको छैटौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।
शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाले भारत सरकारबाट प्राप्त विकास सहयोगको प्रशंसा गर्दै नयाँ गुम्बा भवनले लिखु पिके गाउँपालिकाको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
भारत र नेपालबीचको निरन्तर बहुक्षेत्रीय सहकार्यअन्तर्गत सञ्चालन हुँदै आएका उच्च प्रभाव सामुदायिक विकास परियोजनाले नेपालका प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्न तथा स्थानीय विकास र समृद्धिका प्रयासलाई सघाउँदै आएको छ।















