काठमाडौं: भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा ८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) सञ्चालन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ।
काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकारको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित परियोजना कार्यान्वयन निकायबीच मंगलबार समझदारी पत्रमा हस्ताक्षर भएको हो। प्रस्तावित परियोजनाको कुल अनुमानित लागत ८० करोड ३० लाख रुपैयाँ रहेको छ।
सम्झौताअन्तर्गत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिजिटलाइजेसन, भोजपुरमा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र, धादिङमा कृषि तथा पशुपन्छी केन्द्र भवन, मोरङमा बेलबारी बहुमुखी क्याम्पस भवन निर्माणका परियोजना रहेका छन्।
त्यस्तै, दैलेखमा १० शैयाको अस्पताल, हुम्लामा कृषि प्रवर्द्धन केन्द्र, स्याङ्जामा कोल्ड स्टोर र सुनसरीको बर्जु गाउँपालिकामा १५ शैयाको अस्पताल भवन निर्माण गरिनेछ। यी परियोजना नेपाल सरकारका स्थानीय निकाय तथा संस्थामार्फत कार्यान्वयन हुनेछन्।
भारत सरकारले सन् २००३ देखि हालसम्म ६०५ वटा HICDP नेपालमा अघि बढाएको जनाएको छ। तीमध्ये स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, कनेक्टिभिटी, सरसफाइ तथा सार्वजनिक उपयोगिताका क्षेत्रमा ५१२ वटा परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी परियोजना कार्यान्वयनका विभिन्न चरणमा छन्।
नयाँ परियोजनाहरूले नेपालका प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्नुका साथै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको क्षमता विस्तार तथा स्थानीय विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। यी परियोजनाहरू भारत–नेपालबीचको निरन्तर विकास सहकार्यको हिस्सा हुन्।















