काठमाडौं । मधेश पुस्तकालय तथा अनुसन्धान केन्द्रका संरक्षक एवं राजनीतिक अभियन्ता आभाष गुरुले मधेशलाई बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अत्यावश्यक रहेको बताएका छन् । गुरुले शनिबार सामाजिक सञ्जालमा एक विशेष टिप्पणी लेख्दै यस्तो माग गरेका हुन् ।
नेपाली सेनामा मधेशी समुदायको सशक्त तथा अर्थपूर्ण सहभागिता अत्यावश्यक रहेको बताउँदै उनले यस विषयमा नेपाल सरकार र मधेशी मोर्चाबीच विगतमा लिखित सम्झौता भएको कुरासमेत स्मरण गराएका छन् ।
‘दोस्रो मधेश आन्दोलनका क्रममा २०६४ फाल्गुन १६ गते तत्कालीन नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच आठबुँदे सम्झौता सम्पन्न भएको थियो,’ उनले लेखेका छन्, ‘उक्त सम्झौताको बुँदा ५ मा नेपाली सेनालाई राष्ट्रिय स्वरूप प्रदान गर्न तथा समावेशी बनाउन मधेशी लगायत अन्य समुदायहरूको समानुपातिक समावेशी र समूहगत प्रवेश सुनिश्चित गरिनेछ भनेर स्पष्ट उल्लेख गरिएको छ ।’
अहिले मधेशको व्यापक जनसमर्थन र मत प्राप्त गरेर बालेन्द्र शाह नेतृत्वको सरकार बनेको भन्दै उक्त सम्झौता कार्यान्वयन गर्दै मतदाताप्रति न्याय गर्नुपर्ने उनको तर्क छ । साथै, अब बन्ने संविधान संशोधन बहस पत्रमा तथा नेपाली सेनामा मधेशीहरूको समूहगत प्रवेश सुनिश्चित गर्ने प्रावधान समेटिनुपर्ने माग पनि उनले गरेका छन् ।
मधेश केवल भनेर बलियो नहुने र मधेशलाई बलियो बनाउन ठोक काम आवश्यक रहेको भन्दै प्रधानमन्त्रीले यसलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए । ‘केवल भनेर मधेश बलगर हुँदैन, मधेशलाई बलगर बनाउन ठोस काम आवश्यक हुन्छ,’ उनले लेखेका छन्, ‘जतिबेला पनि ‘काम गरिरहने’ प्रधानमन्त्रीको सूचीमा यो साहसिक तथा ऐतिहासिक कदम पनि समावेश होस्, अन्यथा ‘यो कोठिको धान त्यो कोठिमा सार्ने’ काम त ‘काम नगर्ने’ प्रधानमन्त्रीहरुले पनि गर्दै आएका थिए ।’
यस विषयलाई जेनजी अगुवा, मधेशी सांसद तथा सरोकारवालाहरूले गम्भीर रूपमा उठाउँदै सशक्त आवाज बुलन्द गर्न आवश्यक रहेको उनले बताएका छन् ।















